काठमाडाैं, जेठ ३१ :

भारतको उडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका भारतीय छात्र अद्विक श्रीवास्तव १ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

उडिसास्थित उच्च अदालतले मे १६ मा उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेश जारी भएको भए पनि पीडित पक्षले ढिलो गरी जानकारी पाएको जनाएको छ ।

प्रकृतिका बुबा सुनील लम्सालका अनुसार अभियुक्त रिहा भएको जानकारी आफूलाई केही दिनअघि मात्र प्राप्त भएको हो । ‘त्यस पाएलगत्तै मैले जेठ २८ गते परराष्ट्रमन्त्री डा. आरजु राणालाई भेटेर ज्ञापनपत्र बुझाएको छु,’ उनले बताएका छन् ।

तर, हालसम्म सरकारको तर्फबाट कुनै प्रतिक्रिया वा पहल नआएको उनले गुनासो गरेका छन् । अब अभियुक्त छुटिसकेकाले न्याय नपाइएला कि भन्ने चिन्ता लम्साल परिवारलाई छ ।

गत फागुन ४ गते केआईआईटी कलेजको छात्रावासमा प्रकृति शंकास्पद अवस्थामा मृत भेटिएकी थिइन् । उनलाई मानसिक यातना दिइ आत्महत्या गर्न बाध्य पारेको आरोपमा त्यहीँ अध्ययनरत भारतीय छात्र अद्विक श्रीवास्तव पक्राउ परेका थिए ।