चितवन,साउन १४:त्रिशूलीमा हराएको बस खोज्न प्रयोग भएको चुम्बक आज चितवनको काभ्रेघाटमा फेला परेको छ।

गत असार २८ गतेदेखि हराइरहेको दुईवटा यात्रुवाहक बस खोज्ने क्रममा सो चुम्बक प्रयोग गरिएको थियो । हराएको चुम्बक १९ किलोको थियो । बस खोज्न भारतबाट दुइवटा चुम्बक ल्याइएको थियो।

१९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू गरिएको थियो । त्यस क्रममा चुम्बक र लाइफ ब्वाई ट्युब समेत पानीले बगाएको थियो। हराएको चुम्बक र ट्युब आज भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो।

लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेको बेला उद्धारको लागि प्रयोग गरिन्छ। त्रिशूली नदीमा हराइरहेको बस खोज्न भारतबाट आएको उद्धार टोली भने हिजो नै फर्किसकेको छ।

सरकारले असार ३१ गते खोज तथा उद्धारका लागि भारतको सहयोग मागेपछि भारत सरकारले एनडिआरएफको १२ सदस्यीय टोली नेपाल आएको थियो । साउन ५ गते नेपाल आएका उनीहरुले भोलिपल्टदेखि नदीमा पुगेर काम सुरू गरेका थिए।

उनीहरूले नै ल्याएका सोनार क्यामेरा लगायतका उपकरणहरू प्रयोग गरी बस खोजिएपनि भेटिन सकेको छैन।दुइटा बसमा ६५ जना यात्रु थिए। उनीहरूमध्ये हालसम्म १९ जनाको शव फेला परेको छ भने ३ जनाले हाम फालेर ज्यान जोगाएका थिए । अन्य अझै वेपत्ता छन्।