
इजरायल इरानले एक अर्काका प्रमुख सैन्य र आणविक अड्डाहरूमा आक्रमण गर्दै आएका छन्। इरानले पनि जवाफी प्रतिक्रिया स्वरूप इजरायली शहरहरूमा ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। दुवै मुलुकबीच आक्रमण रोकिएको कुनै संकेत हालसम्म देखिएको छैन।
खुलेआम युद्धमा होमिएका इजरायल र इरान कुनैबेला मित्र राष्ट्र थिए। १९४८ मा इजरायल स्थापना भएपछि टर्कीपछि इरानले इजरायललाई मान्यता दिने दोस्रो मुस्लिम बहुल देशको रूपमा सहकार्यको हात बढाएको थियो।
त्यतिबेला इरानमा पहलवी राजवंशको राजतन्त्र थियो र इरान अमेरिका निकट राष्ट्र मानिन्थ्यो। यस कारण इजरायलका संस्थापक डेभिड बेन-गुरियनले अरब राष्ट्रहरूको विरोध हुँदाहुँदै पनि इरानसँग सम्बन्ध मजबुत बनाएका थिए।
तर १९७९ मा अयातोल्लाह खोमेनीको नेतृत्वमा भएको इस्लामिक क्रान्तिपछि यो सम्बन्ध पूर्णतः टुट्यो। क्रान्तिले शाहको शासन समाप्त गर्यो र इस्लामिक गणतन्त्रको स्थापना गरियो। नयाँ सरकारको वैचारिक आधार नै अमेरिका र इजरायलविरुद्धको विरोधमा आधारित थियो। खोमेनीले आफूलाई उत्पीडितहरूको रक्षकको रूपमा प्रस्तुत गर्दै इजरायललाई 'साम्राज्यवादको प्रतीक'को रूपमा चित्रित गरे।
क्रान्तिपछि इरानले इजरायलसँग कूटनीतिक सम्बन्ध पूर्ण रूपमा विच्छेद गर्यो। इजरायली दूतावासलाई कब्जा गरी प्यालेस्टाइन मुक्ति संगठनलाई हस्तान्तरण गरियो। साथै, इजरायली राहदानीलाई अमान्य घोषणा गर्दै, इजरायलसँग कुनै पनि प्रकारको सहकार्य समाप्त गरियो।
त्यसयता इरानले इजरायलविरुद्ध खुलेर बोल्दै आएको छ भने इजरायलले पनि इरानको आणविक महत्वाकांक्षालाई आफ्नो अस्तित्वको खतरा मानेर निरन्तर कारबाही गर्दै आएको छ। पछिल्लो सैन्य तनावले दुई देशबीचको यो वैचारिक र रणनीतिक शत्रुतालाई पुनः चरम बिन्दुतर्फ धकेलेको छ। बीबीसी हिन्दी