बागलुङ, भदौ २५ :

नेपाल विद्युत् प्राधिकरणले बागलुङको बाढी प्रभावित क्षेत्रमा केन्द्रीय लाइन पुर्‍याइएको छ । 

बडिगाड गाउँपालिका- १० मा बाढीले लघुजलविद्युत् बगाउँदा अन्धकारमा बस्दै आएका स्थानीयको सहजताका लागि केन्द्रीय लाइन पुर्‍याइएको हो । 

गत साउन २२ गते आएको बाढीले क्षति पुर्याएको बडिगाड- १० दर्लिङ, निगलपानी लगायत क्षेत्रमा केन्द्रीय विद्युत् पुर्याएको विद्युत् प्राधिकरणका कार्यालय प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिनुभयो । 

गत बुधबारदेखि अस्थायी कार्यालय सञ्चालन गरी एक सय ८२ मिटर वितरण गरिएको उहाँको भनाइ छ ।

पहिले लघुजलविद्युत् आयोजनाबाट विद्युत् प्रयोग गर्दै आएकामा बाढीले पूर्ण रूपमा बगाएपछि सयौँ घरपरिवार बिजुली विहित भएका थिए। 

बाढीले गाउँको धेरै स्थानमा क्षति पुर्याएको हुँदा गुल्मीको मुसिकोट, मालिका गाउँपालिका हुँदै दर्लिङमा लाइन जोडिएको प्रमुख पौडेलले बताउनुभयो।
 
गाउँमै पुगेर मिटर वितरण गरेको केन्द्रले अतिविपन्न परिवारलाई निःशुल्क मिटरबक्स प्रदान गरेको छ।

करिब ८ सय घरपरिवारमध्ये तीन सय ५० घरमा सेवा पुगेको र अन्य घरमा पोल मर्मत सम्भार गरिरहेको हुँदा दसैँ अगाडिसम्म लाइन पुर्‍याउने पौडेलले जानकारी दिनुभयो ।

बाढीमा परी ११ जनाको मृत्यु भएको र एक जनाको अवस्था अझै अज्ञात रहेको बडिगाड गाउँपालिका- १० का अध्यक्ष वीरेन्द्र बुढामगरले बताउनुभयो ।