काठमाडौं, असार १२ :

राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताएका छन् ।

विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको दक्षिण एसियामै गहिरो प्रभाव पर्दै आइरहेकामा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको बताए । उनले भने, ‘कम्प्युटर र एआईको प्रयोगमा आएको संस्कृतको भविष्य सुन्दर रहेको देखिन्छ । आजको अशान्त विश्वसमाजले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छ ।’

उपनिशषद्‌को ‘यो चराचर चेतनाले भरिपूर्ण छ, यसको त्यागपूर्ण भोग गर, धनसम्पत्ति दौलतमाथि आशक्ति र लोभ नगर’ भन्ने संस्कृत श्लोक उद्दरण गर्दै उनले यो संस्कृत सम्मेलनले युद्धको विभीषिका र सन्त्रासमा उल्झिएको वर्तमान संसारलाई शान्ति, सहयोग र सह-अस्तित्वको सन्देश फैलाउँदै धर्ती, मानव र मानवसभ्यताको संरक्षण र विकास, सुख र सन्तोष युद्धबाट होइन शान्ति, करुणा र मैत्रीबाट मात्र सम्भव छ भन्ने सन्देश दिनुपर्ने बताए ।

उनले नेपालले पनि संस्कृतको संरक्षण र विकासका लागि काम गर्दै आइरहेको बताए । उनले भने, ‘तर त्यो अपर्याप्त छ र अझ धेरै काम गर्न बाँकी छ । त्यसमा सहकार्य पनि आवश्यक छ ।’

राष्ट्रपति पौडेलले विकास चरम अवस्थामा पुगेपछि एकाधिकारले ठाउँ लिन्छ भन्ने अर्थशास्त्रको कुरा जस्तै संस्कृत भाषाको चरम विकास भएकाबेला ठालुहरूले दलित वा अन्य जो कोहीले बोल्न र पढ्न हुन्न भनेर सीमाकरण गरेकाले जनबोलीको भाषा हुन नसकेको उल्लेख गर्दै संस्कृतलाई जनबोलीको भाषा बनाउन आवश्यक भएको बताए ।

उनले नेपाल प्राचीनकालदेखि नै ऋषि महर्षिहरूको जन्मभूमि, तपोभूमि, यज्ञभूमि, साधना भूमि रहँदै आएको बताउँदै महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्लयजुर्वेदका मन्त्रहरूको दर्शन पाएका थिए भने वाल्मीकिको पूर्वजीवन र वेदव्यासको जन्म पनि यसै भूमिमा भएको स्पष्ट पारे ।

उनले राजर्षि जनक, शान्ति सन्देशका नायक बुद्ध, पाणिनि र बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको उल्लेख गरे । उनले भने, ‘नेपाल एउटा प्राचीन राष्ट्र हो, जसको इतिहास दुई हजार पच्चीस सय वर्षदेखि निरन्तर रहँदै आएको छ । नेपाल शब्दको प्रयोग अथर्ववेदमै भएकाले र पौराणिक, तान्त्रिक, स्मृतिग्रन्थ, आयुर्वेद, कौटिल्यको अर्थशास्त्र आदि प्राचीन लाखौँ ग्रन्थमा नेपालका विषयमा अनेक प्रसंग आएकाले यसको प्रचीनता, सनातन वैदिक परम्परा निष्ठता, शान्तिप्रियता, सहिष्णुता, समन्वयमूलकता यस देशको स्वभाव रहँदै आएको बोध हुन्छ ।’

उनले लिच्छविकालमा संस्कृत नै राजभाषा भएको कुरा तत्काल कुँदिएका २०० भन्दा बढी शिलापत्र र अभिलेखहरू प्राप्त भएबाट पुष्टि हुने बताए । उनले भने, ‘मल्ल र शाहकालमा पनि हजारौँ हजार संस्कृतका ग्रन्थहरू रचना भएबाट र वर्तमानमा पनि संस्कृतका अनेक ग्रन्थ रचना भएबाट नेपाल संस्कृतको उद्गमभूमिमात्र होइन उर्वरभूमि हो भन्ने कुरा सिद्ध हुन्छ ।’