
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यु लाइट’ को इन्डकल्याप भएको छ । जेठ २२ गतेबाट छायांकन सुरु गरिएर उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिएको चलचित्रको छायाकंन २५ लगाएर सम्पन्न भएको हो ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका हुन् । प्रतिक्षित चलचित्र ‘बलिदान’ को लेखक तथा मुख्य सहायक निर्देशकसमेत रहेका चौहानको यो डेब्यु सिनेमा हो ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्र ‘द ब्ल्यू लाइट’ को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुषमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
यो चलचित्रको थिम पोस्टर र फर्स्टलुक पोस्टर पहिल्यै सार्वजनिक भइसकेका छन् । थिम पोस्टरमा नीलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी थिइन् । जसमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको थियो । उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।
यस्तै छायाकंनकै क्रममा सार्वजनिक गरिएको पोस्टरमा सिनेमाकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल थिइन् । उक्त पोस्टरमा उनलाई बारमा देखाइएको छ । जहाँ औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा देखिएकी थिइन् ।
निर्माणपक्षले कलाकारको भूमिका र चलचित्रको कथाबारे प्रस्ट पारेको छैन । निर्देशक चौहानले विस्तारै खुलाउँदै जाने बताएका छन् ।
‘हामीले जे बनाउन खोजेका थियौं, त्यसका लागि सफल भयौं । अब पोस्ट-प्रोडक्सनको काम अघि बढ्छ, निर्देशक चौहानले भने, ‘कलाकारहरुको काम कथालाई जीवन्त बनाएको छ, हामी उत्साहित छौं । दर्शकलाई हामीले राम्रो सिनेमा देखाउनेछौं ।’
‘द ब्ल्यू लाइट’को को-प्रोड्युसरका रुपमा रमन ग्रे रहनेछन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् । चलचित्रको छायांकन मैनालीले नै गरेका हुन् ।
आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।