काठमाडाैं, असार १४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आजको बैठकमा पनि अवरोध जारी राखेको छ।  संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा पनि उनीहरुले विरोध जारी नै राख्दै बैठक बहिष्कार गरे ।

‘सदन अवरुद्ध नै हुन्छ। हाम्रो आन्दोलन जारी छ। प्रधानमन्त्री बोलिरहँदा पनि हामी शान्त बस्दैनौं,’ सांसद हरि ढकालले भने। सरकारले बनाएको समितिलाई  झारा टार्ने काम भन्दै रास्वपाले अस्वीकार गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । 

जबसम्म भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीको मुद्दा गम्भीर रूपमा अनुसन्धान हुँदैन तबसम्म आन्दोलन जारी रहने रास्वपाको अडान छ । सरकारले समिति गठन गरेको भए पनि रास्वपाले त्यसलाई विश्वास योग्य मानेको छैन।

गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको रास्वपा संसदको चौथो ठुलो दल हो। पार्टी ३४ दिनदेखि निरन्तर आन्दोलनरत रहँदा पनि प्रधानमन्त्रीले चासो नदिएको र जिम्मेवारीबाट पन्छिएको भन्दै उनीहरूले असन्तुष्टि जनाउँदै आएका छन्।