
घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् ।
२०८० पुस २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको यो सिनेमा हाल प्राइम भिडियोमा स्ट्रिमिङमा उपलब्ध छ । अमेजन प्राइम सदस्यता भएका दर्शकले जुनसुकै देशबाट पनि यो चलचित्र हेर्न सक्नेछन् । जसअन्तर्गत दुई सयभन्दा बढी देशका दर्शकले यो सिनेमा हेर्न पाउने भएका छन् ।
चलचित्रको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । विशेष कुरा के छ भने यो चलचित्र ४३ भाषामा सबटाइटलसहित रिलिज गरिएको छ । जसले यसलाई बहुभाषी दर्शकको पहुँचमा पुर्याएको छ ।
निर्माण पक्षका अनुसार ‘चित्रा’ विश्वव्यापी रूपमा अमेजन प्राइममा रिलिज हुने पहिलो नेपाली चलचित्र हो । यसअघि केही नेपाली चलचित्रहरू अमेजन प्राइम यूके वा यूएसए संस्करणमा मात्र सीमित थिए । तर ‘चित्रा’ भने ग्लोबल प्लेटफर्म मा रिलिज भएको हो ।
निर्देशक लामिछानेले आफूले निर्देशन गरेको फिल्म यसरी विश्वव्यापी रूपमा रिलिज भएको खबरले अत्यन्त उत्साहित बनाएको बताए ।
लामिछाने भन्छन्, ‘चित्राको यो सफलता नेपाली चलचित्र उद्योगका लागि उदाहरणीय बन्न सक्ने सम्भावना छ । विश्व बजारमा नेपाली कथालाई पुर्याउने र नेपालमा पनि यस्तो स्तरको सिनेमा बन्न सक्छ भन्ने सन्देश दिनुमा फिल्म सफल भएको देखिन्छ । हाम्रो कथा अब संसारका दर्शकले बुझ्ने भाषा र माध्यममा पुगेको छ । यो एउटा सुरुवात मात्र हो ।’
चलचित्रमा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।
सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्याप इन्टरटेनमेन्ट अस्ट्रेलियाले सहनिर्माण गरेका हुन् । चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । चलचित्रको एसोसिएट निर्माता राज श्रेष्ठ हुन् ।
अजय अधिकारीको कथा र मनीष गौतमको पटकथा रहेको यो चलचित्रले एक रिटायर्ड बाबु र छोरीबीचको सम्बन्ध, भावनात्मक उतारचढाव र पारिवारिक सम्बन्धको कथा समेटिएको छ । महेश पौडेलको छायांकन रहेको चलचित्रमा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ ।