काठमाडौं, असार १९ :

पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।  थुनछेक बहसपछि बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई धरौटीमा छाड्न आदेश दिएको हो।

जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार ‘विद्युतीय माध्यमबाट गैरकानुनी विषयवस्तु प्रकाशन’ गरेको अभियोगमा पाठकविरुद्ध मुद्दा दायर भएको थियो। मुद्दा दायर भएपछि पाठक आज बिहान अदालतमा आफैं उपस्थित भएका थिए।

पाठकले  कार्यक्रम ‘टफ टक’ मार्फत् हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको संलग्नताबारे ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा युट्युब भिडियो प्रस्तुत गरेका थिए ।।

उक्त भिडियोमा गैरकानुनी सामग्री प्रस्तुत गरिएको आरोपमा जयवीरले साइबर ब्यूरोमा जाहेरी दर्ता गराएका थिए। उनलाई पक्राउ गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएको भए पनि उच्च अदालत पाटनले त्यसअघि नै पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।