
चलचित्र ‘क्याप्टेन साब’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गौरीघाटमा बिहीबार ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो ।
दीपेन्द्र के. खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चारउद्यमीसमेत हुन् ।
‘क्याप्टेन साब’को मुर्हूत सटमा व्यवसायी डा. उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो । पटकथा प्रोडक्सनको दोस्रो प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।
दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै चलचित्रमा यी तीनजनाको यो पहिलोपटक सहकार्य हुन लागेको हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन् ।
कृष्णबहादुर थापा छायाकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ । यो चलचित्र भदौको पहिलो साताबााट छायांकनमा जानेछ ।
‘क्याप्टेन साब एक फरक खालको चलचित्र हुनेछ । क्याप्टेन रामेश्वर थापाको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर फुल इन्टरटेनमेन्ट चलचित्र बनाउने छौँ,’ निर्देशक खनालले भने, ‘क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यावसायमा जोडिन आउने विभिन्न तहका व्यक्तिलगायत पक्ष समेट्ला आफैँमा गज्जबको चलचित्र बन्ने हाम्रो विश्वास छ ।’
यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो चलचित्रमा निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।
निर्देशक खनालकै लेखन रहेको चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक, भीमसेन शाही ‘रोयल भीमसेन’ पोस्टर तथा पब्लिसिटी डिजाइन (ट्राइडेन्ट कन्सेप्ट), प्रोडक्सन डिजाइर अकी थेक्पा, रोहितराज गौतम र विष्णु मैनाली प्रोडक्सन म्यानेजर, अकी ठेक्पा रहेका छन् ।