काठमाडौं, असार २७ :

नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले पर्याप्त विश्लेषण गरेर कार्यान्वयनमुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइएको दाबी गरेका छन् ।

मौद्रिक नीति सार्वजनिकपछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक रामशरण खरेलले धेरै पहिल्यैदेखि तयारी गरेर मौद्रिक नीति ल्याइएको बताए । उनका अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने दिनको गोपनीयता राखिएको हो ।

‘राष्ट्र बैंक ऐनले पनि आगामी बर्षको मौद्रिक नीति तर्जुमा गर्ने भनेको छ । यही महिनामै ल्याउनुपर्ने हो । कहिले यही महिनाको अन्त्यमा त कहिले साउनको पहिलो साता मौद्रिक नीति ल्याउने गरिएको छ,’ उनले भने, ‘विगतमा बजेट आउन ढिलो हुँदा मौद्रिक नीति आउन समय लाग्ने गरेको थियो । अहिले छिटो मौद्रिक नीति ल्याएपछि अबको यही महिनामै आवश्यकअनुसार तयारी गर्न सहज हुनेछ । १/२ गते नै सर्कुलर गरेर मौद्रिक नीतिलाई कार्यान्वयनमा लैजानेछौं । नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै कार्यान्वयनको गति बढ्नेछ ।’

नेपाल राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आगामी दिनमा पनि आर्थिक वर्ष सुरु हुनुअगावै मौद्रिक नीति ल्याउन कोसिस गरिने बताए । आगामी आवको मौद्रिक नीतिलाई केही दिनअघि नै ल्याइँदा आवश्यक तयारी पूरा गर्न सहज हुने उनको विश्वास छ ।

‘यो मौद्रिक नीतिको ठुलो स्टेक होल्डर बैंक वित्त संस्था हो । बैंक तथा वित्तीय संस्थाले आगामी वर्षमा गर्नुपर्ने कार्यक्रमहरु, योजनाहरु बजेटहरुलाई पनि यो मौद्रिक नीतिले दिशा निर्देश गरेअनुसार कार्यान्वयन गर्न सहज हुनेछ,’ उनले भने, ‘अब आगामी आवको योजनाहरु बैंक तथा वित्तीय संस्थाहरुले मौद्रिक नीतिलाई आधार बनाएर बनाउन सक्नेछन् ।’

उनले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समितिका प्रतिवेदनहरुलाई मौद्रिक नीतिले समेटेको पनि बताए ।

यो पनि…

भारतबाहेक देशमा जानेले अबदेखि ३ हजार अमेरिकी डलर सटही गर्न पाउने

लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक : घरकर्जा सीमा ३ करोड पुग्यो, सेयर धितो कर्जाको सीमा पनि बढ्यो
चेक बाउन्ससम्बन्धी राष्ट्र बैंकले गर्‍यो नयाँ व्यवस्था
घर बनाउन एकै व्यक्तिले अब ३ करोडसम्म कर्जा पाउने