
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता हुँदैछ । दुई नेताबीच आज दिउँसो ३ बजे पार्टी कार्यालयमा भेट हुने तय भएको छ।
भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको अवस्थामा दुई नेताबीच भेटवार्ता हुन लागेको हो । भेटवार्तापछि भण्डारीको पार्टीमा औपचारिक भूमिकाको टुंगो लाग्ने र पार्टी सदस्यता नवीकरणको विषय पनि निष्कर्षमा पुग्ने सम्भावना छ।
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिक भूमिकाबारे प्रश्न उठेका थिए । आन्तरिक विवाद समाधान गर्न अध्यक्ष ओली र भण्डारीबीच सिधा संवाद आवश्यक रहेको धारणा धेरै पोलिटब्युरो सदस्यहरूले राखेका थिए
पोलिटब्युरो बैठकबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै अध्यक्ष ओलीले आगामी साउन ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकअघि नै भण्डारीसँग संवाद गर्न लागेका हुन्।