
पर्वत, साउन ४ :
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गएरातिको पहिरोमा पुरिएर विक दम्पती वेपत्ता भएका थिए।अघिल्लो वर्ष यही समय ढिस्को खसेर पुरानो घरमा क्षति पुगेपछि उनीहरू छोराले बनाएको नयाँ घरमा सरेका थिए ।
सोही घरमासँगै रहेकी बुहारी भने भागेर ज्यान बचाएकी छन् ।उनको श्रीमान वैदेशिक रोजगारमा छन् भने छोराछोरी बजारमा बसेर पढिरहेका छन् । आफन्त गुमाएपछि उनी पनि विक्षिप्त बनेकी छन् ।
गएराति देखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ । स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।