काठमाडौँ, भदौ २८ :

नेपाली काँग्रेस  र एमालेले आफ्ना सांसदहरुलाई केही दिन काठमाडौँ नछाड्न निर्देशन दिएका छन।

यसको पछाडिका राजनीतिक कारण के हो भन्ने विषयमा दलहरुले खुलाएका छैनन तर आम मानिसहरुले विभिन्न ढंगले आँकलन गर्न थालेका छन ।

असोज ३ गतेसम्म काठमाडौँ नछाड्न काँग्रेसले हिजोमात्र निर्देशन जारी गरेको हो । काँग्रेस मुख्य सचेतक श्याम घिमिरेले सांसदहरुलाई राजधानी काठमाडौँ नछाड्न मात्र होइन काठमाडौँ बाहिर भएका सांसदहरुलाई पनि काठमाडौँ आउन भनेर निर्देशन दिनुभएको छ। 

आखिर काँग्रेसले किन सांसदरुलाई काठमाडौँमा नै बस्न ह्वीप जारी गर्‍यो त भन्ने विषयमा मुख्य सचेतक घिमिरेले स्पष्ट कारण बताउनु भएन । तर उपसभामुखलाई महाअभियोग लगाउने तयारी काँग्रेस र एमालेले गरिरहेको चर्चा चलिरहँदा उपसभामुखसँगै यो विषय पनि जोडिएको छ ।

 काँग्रेसले मात्र होइन एमालेले पनि आफ्ना सांसदहरुलाई काठमाडौँ नछाड्न निर्देशन दिएको छ। 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई राजधानी नछाड्न निर्देशन दिनुभएको हो ।

यी दुबै दलले उपसभामुखको राजीनामाको विषयलाई संसदमा समेत जोडतोडले उठाएका छन । तर पार्टीगत निर्णय ‍औपचारिक रुपमा भने गरेका छैनन ।

काँग्रेस पदाधिकारी बैठकले उपसभामुखको राजीनामा माग्ने निर्णय गरेको छ तर महाअभियोगका विषयमा भने संसदीय दल र अरु दलहरुसँग छलफल गर्ने जनाएको छ । 

उपसभामुखले राजीनामा नदिए महाअभियोग लगाउने विषयमा सत्तारुढ दलहरु भित्रै विवाद देखिएपछि काँग्रेस र एमाले हच्किएका छन । जनमत पार्टीले महाअभियोग प्रस्तावमा सहयोग नगर्ने  भनेको छ। 

त्यसो त विपक्षी दलहरु उपसभामुख  स्वयंको पार्टी रास्वपा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले चर्को रुपमा प्रतिरोध गर्ने जनाएपछि पनि सरकार केही सोच्न बाध्य भएको छ ।

रास्वपा सभापति रवि लामिछानेले त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख माथि कार्वाही नगर्न चेतावनी समेत दिएका छन ।

अर्कोतिर, नेपाली काँग्रेस भित्रै पनि उपसभामुखलाई कार्वाही गर्नुपर्छ भन्ने विषय सर्वसम्मत बन्न सकेको छैन । संस्थापन इतरका नेताहरु कारवाहीको पक्षमा खुलेर नलागेपछि देउवा र उनको खेमालाइ पनि अप्ठ्यारो परेको छ ।

एमालेले पार्टीगत रुपमा निर्णय गर्न सकेको छैन  तर संसदमा चर्को रुपमा राजीनामाको विषय उठान गरेको छ। 

साना अरु दलहरु पनि महाअभियोग र कारवाहीको विपक्षमा देखिएका छन  ।

उपसभामुखलाई कारवाहीको डर देखाएर आफ्ना राजनीतिक मुद्दाहरु सम्बोधन गर्ने तयारीहरु भएको पनि समाचारहरु आएका छन । जस्तै रविले कारवाहीको विषय भन्दा आफ्नो सहकारी ठगीको विषयमा समाधान खोज्न ओली र देउवालाई भेटेको खवरले पनि उत्तिकै चर्चा पाएको छ । 

एमाले र काँग्रेस कारवाहीको हल्ला गरेर उपसभामुखलाई गलाउने र राजीनामा गराउने दाउमा पनि छन  ।

यसरी सिंगो राजनीतिक वृत्त नै विभाजित हुँदा उपसभामुख माथिको कारवाही के सम्भव होला भन्ने विषयले यतिखेर आम मानिसको मनमा प्रश्न उठाइदिएको छ ।