
बागलुङको गलकोट नगरपालिका- २ भुङ्खानीमा भएको जिप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ ।
उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ ।
रा १ झ २०० नं को सरकारी जीप आज बिहान गलकोट- २ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।
तीनै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ ।
उक्त जीपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडौँ आउनुभएको थियो ।
दुर्घटनास्थलमा परिचयपत्र फेला परेपछि मात्र उपाध्यक्ष बुढा परेको खुलेको हो ।
बिहानै जीप दुर्घटनामा परे पनि स्थानीयले घाँस काट्न जाने बेला देखेपछि मात्रै उनीहरूले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
जिपमा कति जना सवार थिए भन्ने यकिन नभएको रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काले बताउनुभयो ।