
यसपटकको बडादसैंको फूलपातीको अवसरमा रिलिज हुने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ ले प्रचार अभियानलाई थप सशक्त बनाको छ । यसै मेसोमा ४ मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ।
बुधबार सार्वजनिक गरिएको पोस्टरमार्फत अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको भूमिकालाई दर्शकसामु पहिलोपटक प्रस्तुत गरिएको हो ।
निर्देशक सन्तोष सेनका अनुसार टिजर सार्वजनिक हुनुअगावै चलचित्रका केही विशेष पात्रमध्ये कथामा गहिरो प्रभाव छोड्ने यी अनुहारलाई पहिलोपटक दर्शकसामु प्रस्तुत गरिएको हो । पोस्टर सार्वजनिक गर्दै निर्देशक सेनले भनेका छन्, ‘यी तस्बिर केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन् ।’
चलचित्रमा फरक र प्रभावशाली भूमिकामा देखिएका कलाकारहरूमध्ये हेमन्त बुढाथोकी सयौँ चलचित्रमा खलनायकका रूपमा आफ्नो गहिरो छवि बनाइसकेका अनुभवी कलाकार हुन् । निर्देशक सेनले हेमन्तको भूमिकाबारे उल्लेख गर्दै भनेका छन्, ‘जसको उपस्थितिले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ ।’
त्यस्तै संवेदनशील र गहिरा भूमिकामा आफूलाई साबित गरिसकेका अभिनेता अर्पण थापालाई निर्देशकले यस्तो पात्रका रूपमा प्रस्तुत गरेका छन्, ‘जसको आँखाबाट शब्दहरू बोल्छन् र चरित्रको पीडा, विद्रोह र सत्यता दर्शकले महसुस गर्नेछन् ।’
अभिनेत्री ऋचा शर्मा चलचित्रमा एक फरक तरिकाले समाजको प्रतिनिधित्व गर्ने भूमिकामा देखिनेछिन् । निर्देशकका अनुसार ‘उनी प्रत्येक संवादमा जीवनको असल मर्म उजागर गर्ने पात्र हुन् ।’
निर्देशक सेन आफैं पनि चलचित्रको एक प्रभावशाली भूमिकामा प्रस्तुत हुनेछन् । आफूले निभाएको पात्रबारे उनले लेखेका छन्, ‘एक यस्तो पात्र, जो केवल कथाभित्र सीमित छैन, उसले आफ्नो समाजलाई परिभाषित गरेको छ ।’
यसअघि चलचित्रका प्रमुख अभिनेता समिर भट्ट र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ । त्यस्तै अभिनेता सौगात मल्लको रहस्यमय अवतार प्रस्तुत गर्ने पोस्टर र समिरको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको प्रि-टिजरले पनि व्यापक चर्चा बटुलेको थियो ।
यस्तै चलचित्रको प्रचार-प्रसारलाई नयाँ उचाइमा पुर्याउँदै निर्माताले देशभर ‘बलिदान ब्यानर’ अभियान चलाएका छन्, जसमा देशैभर विशाल ब्यानर राखिएका छन् । ‘बलिदान’ लाई फरक कथावस्तु, सशक्त प्रस्तुतीकरण र भावनात्मक गहिराइका साथ विदेशी चलचित्रको भिडमा समेत नेपाली सिनेमाको अलग पहिचान बनाउने उद्देश्य लिइएको निर्देशक सेनले जनाएका छन् ।
‘आसुसेन फिल्म्स् प्रालि’ को प्रस्तुति रहेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड विष्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन् ।