काठमाडौँ, भदौ ३१ :

सभामुखसँग  राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक अहिले जारी छ। 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतकहरु आजको बैठकमा सहभागी छन। 

सिंहदरवारमा बसेको बैठकमा संसदलाई सुचारु गर्ने विषयमा छलफल भइरहेको छ। 

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको 'हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गर्नुभएको नियमापत्तिको निर्णय गर्नुभएको थियो ।

निर्णयमा असहमति जनाउँदै संसद अवरोध भएको थियो ।

२५ गते नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दलका नियमापत्तिको निर्णय सुनाउन अन्तिम अल्टिमेटम दिनुभएको थियो । अन्यथा संसदमा विषय उठाउने भन्नुभएको थियो ।

 सभामुखले कतिपय विषयहरू राजनीतिक प्रकृतिका हुने भएकाले समय लिएरै निर्णय गरौं भन्दा पनि रोकिने अवस्था नदेखिएपछि २६ गते बिहान पनि प्रमुख सचेतक पाण्डेले निर्णय सुनाउन भनेपछि अन्तिम अवस्थामा सभामुख निर्णय सुनाउने अवस्थामा पुग्नुभएको सचिवालयले जनाएको छ ।

सभामुखले निर्णय लिन प्रतिनिधि सभा नियमावलीको नियम २१ र २६ उल्लेख गर्दै 'हिंसा' भन्ने शब्द असंसदीय नहुने निर्णय सुनाउनुभएको थियो । 

सभामुखले ‘हिंसा’ शब्दबारे दलहरूलाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्यौल गर्न कार्यव्यवस्था परामर्श समितिको भदौ १८ गतेको बैठकमा वृहत् छलफल गर्नुभएको थियो ।

त्यहाँ पनि सत्ता पक्ष र विपक्षका सांसदहरुले आ-आफ्ना दलिल पेश गरेका थिए ।

सत्ता पक्षीय सांसदहरुले सभामुखले सुझाव नै लिनु नपर्ने विषयमा किन सुझाव लिएको भनी प्रश्नसमेत उठाएका थिए ।।