मध्यपहाडी लोकमार्ग अन्तर्गत नुवाकोटको डेउडी- भर्याङभुरुङ खण्डमा गए रातिको अविरल वर्षाले क्षति पुर्याउँदा आवतजावत प्रभावित भएको छ ।
विदुर नगरपालिका- १३ सुन्दरेफाँट र हुलाकघर स्थित दहीचिउरे खोलामा आएको बाढीले नुवाकोटको सामरीबाट धादिङ हुँदै गोरखा जाने सडक अवरुद्ध भएको हो ।
बाढीले क्षति पुर्याउदा करिब चार किलोमिटर सडकमा आवतजावत गर्न सक्ने अवस्था छैन भने सुन्दरेफाँट र हुलाक घरको सडक आसपासमा बसोबास गर्ने ५५ घरधुरी परिवारको आवासमा क्षति पुगेको विदुर- १३ का अध्यक्ष भरतबहादुर तामाङले जानकारी दिनुभयो ।
सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यावसायी पछिल्लो एक वर्षदेखि कार्यक्षेत्रमा फर्किएको छैन । साथै राष्ट्रिय गौरवको आयोजनाको कार्यक्षेत्रभित्र पर्ने भएकाले अर्को निकायले काम गर्न नपाउँदा अवरुद्ध सडक सञ्चालनमा समस्या भएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत नुवाकोटको विदुर- १३ डेउडीबाट सामरी भञ्ज्याङ हुँदै धादिङको कटुञ्जेसम्म १३ दशमलव पाँच किलोमिटर सडक कालोपत्र सहित लुम्बिनी सञ्जिवन जेबीले विंस २०७५ असारमा जिम्मेवारी पाएको थियो ।