काठमाण्डौँ , असोज १ :
आज संवैधानिक परिषद्को बैठक बस्दैछ। शुक्रबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवाद रहित तुल्याउन थप अध्ययन र छलफल गर्ने भन्दै बैठक आजको लागि सारिएको थियो।
बैठकमा सहभागी सदस्यहरूले परिषद्का निर्णयलाई विवाद रहित तुल्याउन निर्णय अघि जुनसुकै विषयमा पनि पर्याप्त अध्ययन र छलफल गर्नुपर्ने सुझाव राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि बैठक बोलाउनुभएको हो ।
सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ।
रिक्त हुने उक्त पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट परिषद्ले नाम सिफारिस गरी संसदीय सुनुवाइ समितिमा पठाइने छ।
आज बस्ने बैठकले यस सम्बन्धमा आवश्यक निर्णय लिने जनाइएको छ।