
प्रतिनिधिसभा बैठक आज बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेर आजबाट चालु अधिवेशन अन्त्य हुने छ ।
माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।
हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।
यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।
आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
