
काठमाडौँ, असोज १ :
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउनुभएको छ ।
महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले एक फरक र विशिष्ट परिवेशमा आफूले संसदमा बोल्न समय माग गरेको पनि उल्लेख गर्नुभयो ।
उहाँले प्रतिनिधि सभामा उठेका विभिन्न विषयहरुमा जवाफ दिनुपर्ने भएपनि राष्ट्रसंघमा नेपालले उठाउने विषयलाई केन्द्रीत गरेर आफ्ना भनाइ राख्ने जानकारी शुरुमै गराउनुभएको थियो ।