म्याग्दी, असोज २ :

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ४ पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । 

आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो । 

विसं २०७९ वैशाखमा ठेक्का सम्झौता गरेको बिएम अमित जेभीले गुम्बा निर्माण गरेपछि धार्मिक विधि अनुसार यसै हप्तादेखि गुम्बा सञ्चालन गर्न लागिएको मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका इन्जिनियर सुदीप थकालीले जानकारी दिनुभयो ।

गुम्बाको भवन निर्माण, मूर्ति, सजावट, फर्निचर सहितको सबै काममा पहिलो चरणमा २० करोड लगानी भएको उहाँले बताउनुभयो । 

पाक्लिङलाई बोन धर्मको अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित १५ रोपनी क्षेत्रफलमा पूर्वाधार निर्माण भइरहेको जनाइएको छ। 

अस्टे«लिया र अमेरिकामा रहेको मुस्ताङ बोन फाउन्डेसनले समाज कल्याण परिषद् मार्फत गुम्बा सहितका पूर्वाधार निर्माणका लागि मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रलाई सहयोग उपलब्ध गराएको हो ।