भक्तपुर, असोज ३ :

इन्द्रजात्राको दिन हिजो साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई विराजमान गराइ दीपावली गरिएको छ । 

भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पुर्‍याई साँझबाट मेला सुरु भएको हो । 

भाद्र शुक्ल चतुर्थीको दिन साँझ दीपावली गरी मध्यरातिसम्म मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट इन्द्र दहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । 

भाद्र शुक्ल चतुर्थीको दिन साँझबाट सुरु हुने मेला पूर्णिमामा दिनभर मेला गरी साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै द्यों छेमा भित्र्याएपछि जात्रा सम्पन्न हुने परम्परा रहेको संस्कृति एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल सम्वत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको उहाँको भनाइ छ ।

स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । यसलाई ‘ञँंकीदह’ पनि भनिन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने चलन छ ।

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोर्वधन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा स्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उहाँले बताउनुभयो । 

राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ ।