
हेटौँडामा रहेको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । केन्द्रले एक वर्षमा ती भुरा उत्पादन गरिएको हो ।
मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा, रौतहट र सर्लाही लगायत अन्य जिल्लाका किसानले भुरा खरिद गर्दै आएका छन् । कार्यालयले आर्थिक वर्ष २०८०- ८१ मा चार करोड ह्याचलिङ्ग, २० लाख फ्राइभुरा तथा पाँच लाख फिगरलिङ्ग भुरा उत्पादन गरी बिक्री गरिएको जनाएको छ ।
उत्पादित भुराको बिक्रीबाट ३५ लाख ४५ हजार पाँच सय १९ राजस्व सङ्कलन भएको सूचना अधिकारी बलराम आचार्यले जानकारी दिनुभयो ।
यसअघि कार्यालयले आव २०७९- ८० मा चार करोड ३५ लाखभन्दा बढी भुरा उत्पादन गरी बिक्री गरेको थियो ।
विगतमा तीन करोड ३४ लाख भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा पोखरीको मर्मतसम्भार लगायत व्यवस्थापनमा सुधार गरिएपछि आव २०७९- ८० देखि माछा र भुराको उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख सरोजकुमार यादवले बताउनुभयो ।
कार्यालयको माछा फार्मबाट विभिन्न सात जातका विकासे माछाको मात्र प्रजनन तथा भुरा बिक्री गर्दै आएकामा हाल दुई जातका स्थानीय तथा लोपोन्मुख सहर तथा गर्दी जातको रङ्गीन कोइकार्प माछा प्रजनन तथा बिक्रीको क्रममा रहेको जनाएको छ ।