असोज ३ :

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष  एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमी कमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गर्नुभएको छ ।

संविधान दिवस- २०८१ को पूर्वसन्ध्यामा दिनुभएको शुभकामना सन्देशमा पूर्वअध्यक्ष   रेग्मीले परिणाममुखी कामले मात्र जनआकाङ्क्षा पूरा हुने भएकाले संविधान लक्षित उद्देश्यतर्फ अघि बढन सुझाव दिनुभयो ।

स्थिरता, जनसहभागिता, प्राप्त हकअधिकारको संरक्षण र समृद्धि संवैधानिक मार्गचित्र भएकाले यसको सम्वर्द्धन गर्नु आजको लोकतन्त्रको सारभूत विषय भएको उहाँले बताउनुभएको छ ।
 
लामो सङ्घर्ष र जनआन्दोलनको कठिनतम प्रयासबाट लोकतान्त्रिक संविधान प्राप्त भएको स्मरण गराउँदै पूर्वप्रधानन्यायाधीश रेग्मीले वीर सहिदको बलिदान, घाइते, अपाङ्गहरूको सङ्घर्षपूर्ण जीवनले जनताको समुन्नत भविष्यका लागि अघि बढ्न घच्घचाई रहेको स्पष्ट गर्नुभयो । 

संविधान संशोधन सबैका लागि चासो र बहसको विषय बनेको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वअध्यक्ष रेग्मीले अब अलमलिने र अलमल्याउने छुट कसैलाई नभएको बताउनुभयो। आजको प्रविधिको चरम विकास भएको विश्व व्यवस्थामा नेपाली जनता पनि बढी जागरुक र सचेत भइसकेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि आजको महत्वपूर्ण कार्यभार र आवश्यकता भएकाले जनताको जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्न सबैलाई सुझाव दिनुभयो । 

पूर्वप्रधानन्यायाधीश रेग्मीले आज संविधान संशोधनको विषय एजेन्डाका रुपमा सरकार पक्षबाट उठाइएकोले सार्वजनिक चासो र बहसको विषय बनिरहेको उल्लेख गर्नुभयो ।