काठमाण्डौँ , असोज ३ :

राष्ट्रिय मानव अधिकार आयोगले  आमरण अनशनमा रहेका दीपक सिलवालको अवस्थाबारे अनुगमन गरी जीवनरक्षाका लागि गृहमन्त्रालयलाई पत्राचार गरेको छ ।
    
प्रसव पीडामा परेका महिला र ज्यान जोखिममा रहेका ग्रामीण भेगका नागरिकको स्वास्थ्योपचार गर्न आपतकालीन हेली उद्धार गरी पाउँ भनी गत भदौ २१ गतेदेखि काठमाडौँको शान्ति बाटिकामा आमरण अनशनमा रहनुभएका तेह्रथुमको फेदाप- ५ का ४२ वर्षीय दीपक सिलवालको स्वास्थ्यावस्था सम्बन्धमा आयोगले अनुगमन गरी उक्त पत्राचार गरेको हो ।
    
आयोगका प्रवक्ता टीकाराम पोखरेलले सिलवालको जीवनरक्षाका लागि आजै गृहमन्त्रालयलाई पत्राचार गरेको जानकारी दिनुभयो ।
    
पत्रमा भनिएको छ, “अनुगमनका क्रममा निज सिलवालको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको पाइएकाले निजको स्वास्थ्योपचार सहित जीवनरक्षाका लागि आयोगले आजै गृह मन्त्रालयका साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रहरी परिसर भद्रकाली काठमाडौँलाई समेत तपसिल बमोजिम पत्राचार गरेको छ ।”