
विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा नेपालीहरूले संविधान दिवस विविध कार्यक्रमका साथ मनाएका छन् ।
अबुधाबी, बेइजिङ, कायरो र कोपनहेगनस्थित नेपाली नियोगमा उक्त दिवस हर्षोल्लास पूर्वक मनाइएको ती दूतावासहरूले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन् ।
अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार आयोजित विशेष कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रियगान तथा ज्ञातअज्ञात सहिदहरूको सम्मान गरेर सुरु भएको कार्यक्रममा राजदूत तेजबहादुर क्षेत्री, राजदूतावासका कूटनीतिक कर्मचारी र तिनका परिवार र संयुक्त अरब इमिरेट्समा रहेका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा कामको सिलसिलामा त्यहाँ रहेका नेपालीको उपस्थिति थियो ।
राजदूत क्षेत्रीले नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेका जनताका हक, अधिकार, मूल्य मान्यता र लोकतान्त्रिक शासन प्रणालीको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, विकास, समृद्धि तथा सुशासन कायम गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।
यसैगरी बेइजिङस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्रकुमार यादवले संविधान दिवसको महत्वबारे चर्चा गर्दै नयाँ संविधानले मुलुकमा समानता, समावेशिता, एवं प्रजातान्त्रिक मूल्य, मान्यता स्थापनामा योगदान गरेको बताउनुभयो ।
चिनियाँ परराष्ट्र मन्त्रालयको एसिया मामिला विभागका महानिर्देशक लिउ जिनसङको प्रमुख आतिथ्यमा भएको समारोहमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।
समारोहमा बेइजिङस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि, चिनियाँ उद्यमी- व्यवसायी, सञ्चारकर्मी लगायतको सहभागिता जनाएको छ। त्यसअघि दूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।
यसैगरी इजिप्टको राजधानी कायरोमा बिहीबार नै इजिप्टको परराष्ट्र मन्त्रालयका एसिया- प्रशान्त तथा अष्ट्रेलिया र न्यूजील्याण्ड मामिलासम्बन्धी सहायक विदेशमन्त्री अहमद शाहिनको उपस्थितिमा संविधान दिवस समारोह आयोजना गरियो ।
सहायक विदेशमन्त्री शाहीनले दुई देशबीच व्यापार, पर्यटन र शिक्षा लगायत क्षेत्रमा आपसी सहयोग विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्सालले नेपालको संविधान देशको आधुनिक इतिहासमा कोशेढुङ्गाका रूपमा रहेको बताउँदै नेपाल र इजिप्टबीचको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा इजिप्टका फोटो पत्रकार यासेर आला मुबारकले गत वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिर परिसरमा खिचेका तस्बिरहरूको प्रदर्शनी पनि गरिएको दूतावासले जनाएको छ ।
यसैगरी, कोपेनहेगनस्थित नेपाली नियोगमा आयोजित कार्यक्रममा नियोग प्रमुख सावित्रा ओलीले सात दशक लामो सङ्घर्षपछि जनताद्वारा निर्वाचित प्रतिनिधिले नेपालको संविधान बनाएको ऐतिहासिक दिनको सम्झना गर्दै लोकतन्त्रको संस्थागत विकासमा संविधानले योगदान गरेको बताउनुभयो ।
नेपाल- डेनमार्क सम्बन्धबारे चर्चा गर्दै उहाँले व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध वृद्धिमा जोड दिनुभएको थियो ।