
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी पाँच रुपैयाँ छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ ।
हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताउनुभयो ।
कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ भने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर सात रुपैयाँ छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताउनुभयो ।
अरुवा मोटा चामलको एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली एक हजार सात सय २५, स्टिम जिरा मसिनो दुई हजार दुई सय ५० मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ ।
यसअघि अरुवा मोटा चामलको एक हजार छ सय ५०, अरुवा सोना मन्सुली एक हजार आठ सय ५०, स्टिम जिरा दुई हजार तीन सय ७५ मा बिक्री वितरण हुँदै आएको थियो ।
पच्चीस केजी बोराका विभिन्न चामलको प्रति बोराबाट एक सय २५ रुपैयाँ छुटमा बिक्री हुन लागेको हो ।
यस्तै सूर्यमुखी तेल प्रति पेटीको दुई हजार दुई सय ३० र तोरी तेलको प्रतिपेटी दुई हजार ३० रुपैयाँमा बिक्री गर्न लागेको कार्यलयले जनाएको छ ।
सहुलियत मूल्यमा असोज ६ देखि असोज १५ गतेसम्म खाद्यान्न बिक्री गरिने जनाइएको छ ।