काठमाण्डौँ , असोज ५ :

कञ्चनपुर भीमदत्त नगरपालिका- ११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा लगाएको धान खेती मध्ये आधा क्षेत्रफलको धान ढलेपछि चिन्तित हुनुभएको छ । 

गत भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीबतासले धानखेतीमा क्षति पुर्याएको हो । 

हुरीबतास र वर्षाले धानखेतीमा क्षति पुर्याएपछि खानलाई समस्या हुने उहाँले गुनासो गर्नुभयो । वर्षभरिलाई खान पुग्ने राखेर बाँकी बिक्री गरेर घरखर्च जोहो गर्दै आएपछि यस वर्ष धान ढलेर नास भएपछि उहाँ चिन्तामा पर्नुभएको हो ।

भीमदत्त नगरपालिका- ११ भुजेलाकै मनोधरी लुहारसँग पनि दुई कट्ठामात्र जमिन छ । त्यसको उब्जाउले खानलाई नपुग्ने हुनाले उहाँ अधियाँ गर्ने गर्नुहुन्छ । गाउँमै अधियाँ गरेको १० कट्ठा जमिनको धानमा क्षति पुगेपछि उहाँलाई के खाने ? भन्ने चिन्ताले पिरोल्न थालेको छ । 

हुरीले ढलेर खेतमै पानीले धान कुहिएको उहाँको गुनासो छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले अविरल वर्षापछि आएको बाढी र हुरीबतासले कञ्चनपुरको दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरी लगायत क्षेत्रका धान बालीमा बढी क्षति पुगेको बताउनुभयो ।

स्थानीय तहले क्षतिको यकिन विवरण सङ्कलन गरिरहेको र निरीक्षणका क्रममा दोधारा चाँदनी लगायत क्षेत्रमा पटानले खेतको धान पूरै बगर बनाएको पाइएको उहाँले बताउनुभयो ।