काठमाण्डौं, असोज ५ :

नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ ।

२०७२ सालको भूकम्पले धरहरा ढलेपछि नयाँ धरहरा निर्माण गरिएपछि बिहिबार संविधान दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

धरहरा खुल्ला गरिएपछि धरहरा चढ्न जानेको लर्को लागेको छ । भित्र छिर्नको लागि टिकट काटिएपनि शुल्क भने लिइएको छैन ।

व्यवस्थित रुपमा भित्र जानको लागि टिकट लिएर मात्र प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । पूर्ण रूपमा निर्माण कार्य सकिएपछि शुल्क लिएर चढ्ने व्यवस्था गरिने छ ।

खुला गरिएको धरहरा पूर्ण रूपमा निर्माण भने हुन सकेको छैन् ।

निर्माणको काम नसकिए पनि धरहरा चढ्न सर्वसाधरणहरु निकै उत्साहित देखिन्छन् ।

धरहराको ९८ प्रतिशत निर्माणको काम सम्पन्न भएको सहरी विकास मन्त्रालयले जनाएको छ । २०७८ साल वैशाख ११ मा केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा धरहराको उद्घाटन गरिएको थियो ।

त्यस समयमा मूल धरहराको निर्माण नसकिए पनि अन्य संरचना निर्माण ४२ प्रतिशतमात्रै पूरा भएको थियो ।

सरकारले अर्को व्यवस्थापन गर्दासम्म केही समय निःशुल्क रूपमा नै धरहरा चढ्न  पाइने व्यवस्था गरेको छ ।

रंगरोगन र शृङ्गारका केही कामहरू बाँकी रहे पनि यसले खास समस्या नपर्ने बताइएको छ ।