सुदुरपश्चिम,साउन १६:  सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घ सोडारीले पर्सि शुक्रबार विश्वासको मत लिने हुनुभएको छ । 

मुख्यमन्त्री सोडारीले प्रदेश सभा सचिवालयलाई प्रदेश सभा बैठक आह्वानका लागि आज पत्र पठाउनुभएको छ ।

मुख्यमन्त्री सोडारीले केही दलहरूले समर्थन फिर्ता लिएकाले विश्वास मत लिने भन्दै सचिवालयमा पत्र पठाउनुभएको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिनुभयो ।
शुक्रबार अपराह्न चार बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ।

जेठ ६ गते नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा सोडारी नियुक्त हुनुभएको थियो ।  यो बीचमा सोडारीले चार पटक मन्त्रिमण्डल हेरफेर गरिसक्नुभएको छ । 

केन्द्रमा नयाँ समीकरणपछि एमालेले मुख्यमन्त्रीलाई दिएको सर्मथन फिर्ता लिएको छ । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले राजीनामा नदिएर संसदमा विश्वासको मत लिने अडान राख्नुभएको थियो ।