
दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामका विभिन्न पोखरी तथा ताललाई स्थानीयको सहयोगमा विशेष रूपमा श्रृङ्गार्न थालिएको हो । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ ।
तराइमा छठको छुट्टै महत्त्व रहेको नीति आयोग मधेस प्रदेशका पूर्वउपाध्यक्ष डा भोगेन्द्र झाले बताउनुभयो । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गासागर, धनुषसागर, अरगजा, महरासागर, रत्नसागर, गोरधोइ, अरगजासर, दशरथ तलाउ, नोचा पोखरी, मटकोरबा पोखरी, दूधमतीघाटलगायत पोखरी, नदी र तालको सरसफाइसँगै सजाउने काममा स्थानीयको सक्रियता बढेको उनले जानकारी दिए ।
प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्या वृद्धि भइरहेकाले पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा घुइँचो देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठमा आवश्यक सामानको मूल्य वृद्धि भएको स्थानीय रुकमिनी साहले बताए ।
यस वर्ष कात्तिक १० गते (सोमबार) षष्ठीतिथिमा विधिपूर्वक साँझको सूर्यलाई अघ्र्य दिने दिन भए पनि यसको मुख्य विधि तीन पण्डित कुशेश्वर उपाध्यायले जानकारी दिए।
‘अहिले गाउँगाउँ, घरघरमा छठ पर्वका गीत गुञ्जिन थालेका छन् । सूर्यषष्ठी अर्थात् छठ पर्व प्रारम्भ हुनेछ । छठको पहिलो दिन बर्तालुले नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभरि उपबास बस्ने गर्दछन्’, उनले भने ।
सोही दिनको बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित उपाध्यायले जानकारी दिए।
अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुले रातभरि जाग्राम बस्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत समाप्त हुने उनले बताए । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भनेर श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा बजारमा समान किन्ने र ताल, पोखरी सहजाउनेको घुइँचो देखिन थालेको छ ।