
जिल्ला ट्राफिक कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ ।
नौ हजार सात सय ६९ सवारी साधन कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिनुभयो ।
सो अवधिमा सबैभन्दा धेरै एक हजार छ सय ८४ जिप, कार तथा भ्यानलाई कारबाही गर्दा रु १० लाख पाँच हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।
यसैगरी एक हजार दुई सय ३१ मोटरसाइकल, छ सय ९६ ट्रक, दुई सय १० बस, एक सय ७४ टिपर, एक सय ८४ ट्रयाक्टर र तीन सय छ टेम्पो कारबाहीमा परेका छन् ।
कार्यालयको तथ्याङ्क अनुसार साउन १० र भदौमा छ गरी सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा दुर्घटनामा परी ३२ जना सख्त घाइते र तीन सय ६० जना सामान्य घाइते भएका थिए ।
पछिल्लो दुई महिनामा जिल्ला भरिमा दुई सय ३६ दुर्घटना भएका छन् । यस अवधिमा दुई सय २६ मोटरसाइकल, चार ट्रक, ११ बस, ३५ जिप- कार, तीन ट्र्याक्टर, ४३ टेम्पो, एक टिपर र दुई अन्य सवारी दुर्घटनामा परेका थिए ।