
राष्ट्रिय बहिरा महासङ्घ नेपालले अपाङ्गतासम्बन्धी संवैधानिक व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनको माग गरेको छ ।
महासङ्घले आइतबार एक विज्ञप्ति जारी गरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको कार्यान्वयनको माग गरेको हो ।
शिक्षा ऐनलगायतका ऐन कानुनमा सुनिश्चित गरिएका बहिरा नागरिकका हक अधिकारमा बहिरा समुदायको अधिकार सुनिश्चित गर्न, नभएका कानुन निर्माण गरी बहिरा समुदायको मुल प्रवाहिकरण गर्न सहकार्यका लागि सरकारी, गैरसरकारी, सञ्चार जगत, निजी क्षेत्र एवं अन्तर्राष्ट्रिय समुदायसँग महासङ्घ आव्हान गरेको विज्ञप्तिमा उल्लेख छ ।
बहिरा नागरिकका हकअधिकार प्रदान गर्ने सन्दर्भमा विद्यमान कानुनी व्यवस्था र सामाजिक दृष्टिकोण अझै विभेदपूर्ण रहेको महासङ्घको भनाइ छ ।
बहिराहरूको पहिलो भाषा नेपाली साङ्केतिक भाषामा हालसम्ममा झण्डै सात हजार सङ्केत विकास गरी शब्दकोश प्रकाशन तथा मोबाइल ‘एप्लिकेशन’ विकास गरिएको छ ।
‘साङ्केतिक भाषा अधिकारका लागि सङ्केत गरौँ’ भन्ने मूल नारासहित आज सातौँ साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस २०८१ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको सन् २०१७ डिसेम्बर १९ को ७२ औँ महासभाले हरेक वर्षको सेप्टेम्बर २३ तारिखलाई बहिरा नागरिकहरूको सञ्चारको माध्यम साङ्केतिक भाषाको अधिकारलाई पहिचान गरी साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेसँगै संसारभर साङ्केतिक भाषाको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको हो ।