स्याङ्जा, असोज ९ :

गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । 

वि. सं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण अगाडि बढेको हो ।

स्याङ्जाको चापाकोट नगरपालिका- १० र पाल्पाको रामपुर नगरपालिका- १० जोड्ने गरी आँधीघाटमा निर्माण भइरहेको पुलको हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सन्तोष कँडेलले बताउनुभयो ।

आँधीघाट र बाँसटारीमा दुई पुल निर्माण भइरहेको छ । आँधीघाटमा निर्माण भइरहेको पुल दुई सय २० मिटर लम्बाइको हुनेछ । 

दुईवटा फुटपाथसहित पुल साढे १० मिटर चौडाइको हुने भएको हो । एक दशमलव पाँच मिटर चौडाइका फुटपाथ पुलको दुवै किनारामा निर्माण गरिने भएको हो ।

सम्झौता भएको मितिले पुल निर्माणकार्य तीन वर्षमा सक्नुपर्ने भए तापनि कोभिड लगायतका महामारीका कारण समयावधि थप गरी २०८२ को चैतसम्म रहेको उहाँले बताउनुभयो । 

काम तीव्रगतिमा अगाडि बढेकाले सम्भवतः २०८२ को नयाँ वर्षदेखि नै पुल निर्माण सम्पन्न भई सवारी साधन चल्न सक्ने उहाँले बताउनुभयो ।

चारवटा स्पान रहने निर्माणाधीन पुलको तीनवटा स्पान निर्माण सम्पन्न भएको छ । एउटा स्पान निर्माणको काम अहिले जारी छ । 

आँधीघाटमा हाल झोलुङ्गे पुलबाट वारपार गरिरहेका यात्रीलाई पक्की पुल निर्माण सम्पन्न भएसँगै सहज हुने भएको हो । 

आँधीघाटमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै स्याङ्जाको चापाकोट पाल्पाको रामपुर- १० बर्दलेस्थित कालीगण्डकी करिडोरमा जोडिने छ। 

अहिले आँधीघाटमा रहेको झोलुङ्गे पुलबाट पैदलयात्री तथा मोटरसाइकल वारपार गर्दै आएका छन् ।