
झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका- ६ कुमारी चोकस्थित प्र १- ०१- ०१३ प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड नगरपालिका- ६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले बताउनुभयो।
गएराति उक्त मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा आज बिहान बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।
प्रहरीले मोटरसाइकल चालक बुद्धशान्ति नगरपालिका- ४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।
बसको ठक्करबाट मृत्यु
त्यस्तै, बसको ठक्करबाट कैलाली गौरीगङ्गा नगरपालिका- ९ मसुरियामा सुपप्र ०१- ००१ क २४६४ नम्बरको बसले ठक्कर दिँदा ८४ वर्षीय हर्कबहादुर बमको मृत्युु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहोराले जानकारी दिनुभयो ।
सोमबार साँझ सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बस र चालक गौरीगङ्गा- ९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।