
प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबिसी) को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेको छ।
नयाँपुल- बिरेठाँटी- घान्द्रुक सडकको अन्नपूर्ण- १० किलुमा गत असार २० गते पहिरोले अवरुद्ध भएको थियो । यो सडक मङ्गलबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले जानकारी दिनुभयो ।
सडक नखुल्दा गाउँमा पर्यटकीय गतिविधि पनि प्रभावित भएको र पोखराबाट घान्द्रुक सम्मको सिधा यातायात सम्पर्क टुटेको थियो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मत गरिएको हो ।
पूर्वाधार विकास कार्यालयको २५ लाख र रु दुई लाख २५ हजार स्थानीय जनश्रमदानबाट गरी २७ लाख २५ हजार लगानीमा सडक मर्मत गरिएको कार्यालयका प्रमुख खड्काले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका- १० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुक बसपार्कसम्म अब गाडी सजिलै जाने र लामो समयदेखिको अवरोध हटेको बताउनुभयो ।
पर्यटकको आगमन बढ्ने समयमा सडकको अवरोध हटेकोमा घान्द्रुकका पर्यटन व्यवसायी उत्साही बनेको व्यवसायी अमृत गुरुङले बताउनुभयो ।