तनहुँ, असोज ११ :

तनहुँको बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ। 

बन्दीपुर गाउँपालिका- ४ स्थित पुलामी चोकबाट पानी ट्याङ्की सम्म जाने सडक ढलानका लागि स्थानीयले रोजगारी पाएका हुन्। 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडा भित्रका विकास योजनामा स्थानीयलाई रोजगारी दिने नीति बमोजिम सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिएको गाउँपालिका रोजगार सेवा केन्द्र संयोजक शरणसिंह गुरुङले बताउनुभयो ।

सडक ढलानका लागि आठ जना अदक्ष र चार जना दक्ष श्रमिकलाई रोजगारी दिइएको छ । सडक ढलान तथा कामदारको ज्यालाबापत चार लाख बजेट विनियोजन गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सडक तथा पानीको निकास निम्ति नाला निर्माण, चौतारा मर्मत, पैदलमार्ग निर्माण हुने गरेको छ । 

रोजगारीको हक सम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चयन भएकाले उनीहरूले न्यूनतम सय दिनको रोजगारी पाउँछन् ।