काठमाण्डौँ , असोज ११ :

प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ ।

मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । 

काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरा लगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ । 

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले  ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएको जानकारी दिनुभयो ।

काठमाडौँबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौँ फर्किएको छ ।

सोही एयरलाइन्सको काठमाडौँबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएकाले बिच बाटोबाटै काठमाडौँ फर्किएको छ ।

मौसम खराब भएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् । 

अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको जनाइएको छ । 

आज देशका अधिकांश भागमा बदली रहनुका साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।