काठमाण्डौँ , असोज ११ :

विश्वका विभिन्न मुलुकबाट चीनमा पर्यटक भित्र्याउने अभियानमा सक्रिय पर्यटन प्रवर्द्धक प्रोफेसर वोल्फगाङ जर्ज अलर्ट प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको सद्भावनादूत र विशेषज्ञ सल्लाहकारमा नियुक्त हुनुभएको छ । 

चाइना आउटबाउन्ड टुरिजम रिसर्च इन्स्टिच्युटका संस्थापक जर्जलाई चीनका लागि सद्भावनादूत र विशेषज्ञ सल्लाहकारका रूपमा नियुक्त गरिएको पाटा नेपालले विज्ञप्ति मार्फत जनाएको छ ।

नेपालका लागि चीनको महत्वपूर्ण आउटबाउन्ड पर्यटन सम्भाव्यताको कदर स्वरुप, पाटा नेपाल च्याप्टरको हालैको कार्यकारी समितिको बैठकले प्रोफेसर  जर्जलाई उक्त मानार्थ पद प्रदान गरेको हो । 

जर्जलाई सद्भावनादूतको रुपमा घोषणा गर्न पाउँदा आफूहरू हर्षित भएको र यसले नेपालमा चिनियाँ पर्यटक भित्र्याउन मद्दत पुग्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले बताउनुभयो । 

जर्जको क्षमता, ज्ञान, व्यापक नेटवर्क तथा दशकौँ लामो विशेषज्ञताले नेपालको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने र पर्यटन प्रवर्द्धन तथा अनुसन्धान पहललाई अगाडि बढाउन भूमिका खेल्ने उहाँले बताउनुभयो ।

जर्जले चीनलगायत विश्वका विभिन्न मुलुकबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन भूमिका खेल्ने अध्यक्ष लकाईले विश्वास व्यक्त गर्नुभयो।