ललितपुर, असोज ११ :

ललितपुर महानगरपालिकाले वातावरण र कृषि क्षेत्रमा कोरियाको चेरवन सहरका सकारात्मक अभ्यास पछ्याउने भएको छ ।

कोरियाको चेरवन सहरका प्रमुख ली ह्युन जोन सहितको प्रतिनिधिमण्डलको स्वागतमा ललितपुर महानगरपालिकाको बैठक कक्षमा आज आयोजित कार्यक्रममा नगरप्रमुख चिरीबाबु महर्जनले वातावरण र कृषि क्षेत्रमा भएका सकारात्मक अभ्यास आदानप्रदान चाहेको बताउनुभयो । 

नगरप्रमुख महर्जनले चेरवन सहर र ललितपुर महानगरबीचको भगिनी सम्बन्धले नेपाल र कोरियाबीचको दौत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । 

एक महिनाअघि महानगर प्रमुख महर्जन चेरवन सहरको निमन्त्रणमा भगिनी सम्बन्ध कायम गर्नका लागि त्यहाँ जानुभएको थियो ।

चेरवनका मेयर सहितको प्रतिनिधिमण्डललाई स्वागत गर्दै प्रमुख महर्जनले कृषि र वातावरणको क्षेत्रमा चेरवनबाट ललितपुरले असल अभ्यासहरू सिक्न सक्ने बताउनुभयो ।

चेरवन सहरका प्रमुख ली ह्युन जोनले ललितपुर महानगरसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उहाँले कृषि, पर्यावरण प्राथमिकतामा रहेको भन्दै नेपालीहरूको सद्भावको शैलीबाट आफू प्रभावित भएको बताउनुभयो ।