म्याग्दी, असोज १२ :

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र भएको छ ।  

जोमसोम- कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो। बेनी- जोमसोम- कोरला सडक आयोजना अन्तर्गत  जोमसोम- कागबेनी खण्डमा कालोपत्र गर्न २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । 

बेनी- जोमसोम- कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाइँले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । 

कागबेनी देखि कोरला तर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने वैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ । 

जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोर अन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ । 

पच्चीस किलोमिटर लामो चराङ- छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । 

यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक ग्राभेल हुने आयोजना प्रमुख ध्रुव कुमार झाले बताउनुभयो ।