
राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
दसैँ, तिहार र छठ पर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य खाद्यान्न तथा अन्य वस्तुको बिक्री वितरणको अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापन लगायतका विषयमा आयोगले अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले यस्तो आग्रह गरेको हो ।
आम उपभोक्ताको अधिकार संरक्षणार्थ चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतलाई सहज, सुलभ, मर्यादित, सुरक्षित र मानव अधिकारमैत्री बनाउन जरुरी रहेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
आयोगले आम उपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय लगायत सम्बद्ध सबै पक्षलाई आग्रह छ ।