
दुई दिनदेखिको अविरल बर्षा अहिले पनि रोकिएको छैन ।
रातभर झरी निरन्तर परिरहेको छ ।
बर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ ।
सडकहरु पानीले भरिएर नदीजस्तै बनेका छन । मुल सडकहरु त पहिरोले बन्द जस्तै छन ।
यातायात र पदैल यात्री दुबैलाई बर्षाले समस्यामा पारेको छ । झरी रोकिने अझै छाँटकाँट देखिँदैन ।
अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ ।
जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ ।
विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ ।
अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ ।