काठमाण्डौं, असोज १३ :

तीन दिनदेखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न स्थानमा बाढी–पहिरोले ठूलो जनधनको क्षति भएको छ । बाढी–पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

आज बिहान बनेपा नगरपालिका–१० जनागालस्थित एक घरमा पहिरो खस्दा ६ वर्षीय यूनिष हुमागाईंको मृत्यु भएको छ । घाइते अवस्थामा यूनिषलाई तत्काल उद्धार गरी भक्तपुर अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।  घरमाथिको जग्गा प्लटिङबाट आएको पहिरोले हुमागाईँको घर भत्किएको थियो । बनेपा पुलबजारस्थित राजमार्ग डुबानका कारण उनको उपचाररार्थ भक्तपुर लैजानु परेको थियो ।

वर्षाका कारण आज बिहान दुई घर भत्किँदा तेमाल गाउँपालिका–७ चापाखोरीमा दुई महिलाको मृत्यु भएको छ । स्थानीय शिक्षक प्रेमबहादुर लामाका अनुसार मृत्यु हुनेमा ५० वर्षीया पाताली तामाङ र उनकी ३९ वर्षीया बहिनी रहेका छन् । बहिनी पातालीको घरमा मकै भाँच्ने काममा धुल्खुबाट सघाउन आउनुभएको थियो ।

यस्तै बेथान्चोक गाउँपालिकामा घर जाने क्रममा ५ नं वडा च्याल्टीमा गएको पहिरोमा पुरिएर शुक्रबार साँझ ४५ वर्षीय प्रेमबहादुर वाइबाको निधन भएको छ । वडाध्यक्ष राजकुमार वाइबाका अनुसार खोला तरेर घर जाने क्रममा बारीको ढिस्को बाटोमा आँउदा उनी पुरिएका हुन् । च्याल्टीमा खोला ठूलो भएकाले खोला तर्न नसकेका स्थानीयलाई वाइबाले खोला तारी दिएर आफूपछि तर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएरातीदेखि १० जना पहिरोमा परी बेपत्ता भएका छन् । आज बिहान साढे ३ बजे पनौती नगरपालिका–१२ कलाँतीमा पहिरोले घर पुरिँदा श्रीमान श्रीमती बेपत्ता भएका छन् । यस्तै बिहान करिब ६ बजे बनेपा–१४ थालचोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका हुन् ।

बिहान ६ बजे नमोबुद्ध नपा–२ श्यामापाटीमा पहिरोमा परी दुई बेपत्ता तथा  पनौती–११ थुम्कीमा एक घर पुरिँदा चार जना बिहानदेखि सम्पर्कविहिन अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धारमा कठिनाइ भए पनि अहिले यी घटनास्थलमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मी परिचालन भएको जनाइएको छ ।

यसैगरि पनौतीकै १२ नं वडास्थित कोलाँतीमा गोपाल तिमल्सिनाको घर पुरिँदा चार जना पुरिएकामा तीन जनालाई जिवितै उद्धार गरिएको छभने एक जना अझै बेपत्ता रहेको कार्यालयले जनाएको छ । पनौती–१२ थुम्की डाँडामा पहिरोको जोखिममा परेका करिब एक सय जना उद्धारको पर्खाइमा बसेको जनाइएको छ ।

मण्डनदेउपुर नपा–१२ स्थित काफलचौर ५ घर र ३ नं वडाको बयरबोटमा एक घर जोखिममा परेको तथा रोशी गाउँपालिकास्थित विपी राजमार्गमा पर्ने नार्के बजारमा सडक छेउका दुई घर पहिरोमा परी बगाएको छ ।

मण्डनदेउपुरकै कोदारीभिरमा पहिरो खसेपछि हेलम्बू राजमार्गको जिरोकिलो कुन्ताबेसी–मेलम्ची सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।