काठमाण्डौँ , असोज १३ :

सिन्धुलीको सुनकोशी गाउँपालिका- १ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जना नदीको बीचमा पसेका छन् । 

गुरुकुलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र दुई जना मन्दिरका पुजारी शुक्रबार रातिदेखि बाढीमा फसेका हुन् । 

सुनकोशी नदीमा जलसतह बढेर मन्दिरसम्म पुगेर रोशी खोलाले मन्दिरको दुवैतर्फबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरुकूलका शिक्षक नारायण घिमिरेले बताउनुभयो ।

बिहीबारदेखि परेको अविरल वर्षासँगै सुनकोशी र रोशी नदीमा आएको बाढीले मन्दिरको चारैतिर च्यापे पछि सुरक्षित स्थानमा जान नसकिएको उहाँले उल्लेख गर्नुभयो । “अहिले हामी गुरुकुलको माथिल्लो तलामा छौँ । कतैबाट उद्धारको पहल भएको छैन”, उहाँले भन्नुभयो ।

विपद् व्यवस्थापनका सबै संयन्त्रमा खबर गरी उद्धारको प्रयास भए पनि अहिले सम्म उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताउनुभयो ।

“हामी उहाँहरुको उद्धारका लागि प्रयास गरिरहेका छौँ । गएराति पर्ख र हेर भन्ने बाहेक कुनै विकल्पले काम गरेन”, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेले मन्दिर परिसरमा बाडीमा फसेका ३३ जनालाई उद्धार गर्न स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी शुक्रबारदेखि पहल गरिरहेको जानकारी दिनुभयो । 

 उद्धारमा खटिएको टोलीले उहाँहरूको अहिले सम्म उद्धार गर्न सकिएको छैन । काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर झिकाउने पहल भइरहेको उहाँले बताउनुभयो ।

अहिले मौसम प्रतिकूल भएकाले हेलिकप्टर पनि आउन सकेको छैन । मौसम अनुकूल हुने बित्तिकै हेलिकप्टर उडान मार्फत उद्धार हुने उहाँको भनाई छ ।

रोशी र सुनकोशी नदीमा आएको बाढीले सुनकोशी गाउँपालिका- ५ मुल्कोट, गोलञ्जोर गाउँपालिका- ७ खुर्कोट बजार डुबानमा परेका छन् ।

साथै दुम्जाका पाँच घर बगाएको छ । दुम्जा र नेपालथोक बीचमा एक सय मिटर बिपी राजमार्ग बाढीले बगाएपछि शुक्रबारदेखि आवतजावत बन्द भएको प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

सुनकोशी, कमला र बागमती नदीले खतराको तह पार गरेका छन् । अविरल वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।