सिन्धुली, असोज १४ :

अवरुद्ध बिपी राजमार्गको नेपालथोक- खुर्कोट सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ। 

सुनकोशी गाउँपालिका- ३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थाई डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा सवारी साधन चल्न थालेका हुन् ।  

बाढीपहिरोले टुप्पी डाँडामा रोकिएका बिरामी, शव सहितका एम्बुलेन्स, सयौँ सवारी साधन र यात्रु सिन्धुलीमाडीतर्फ फर्किन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । 

बिपी राजमार्गको चार खण्डमध्ये, खुर्कोट- नेपालथोक, सिन्धुलीमाडी- खुर्कोटबर्दिवास- सिन्धुलीमाडी खण्डमा सवारी साधन चल्न थालेका छन् ।

नेपालथोक- धुलिखेल सडकखण्ड खुलाउन अझै केही समय लाग्ने उहाँले बताउनुभयो ।

बिपी राजमार्गको नेपालथोक- खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो ।

यातायात ठप्प हुँदा तीन दिन देखी सयौँ सवारी साधन बाटैमा थन्किएका थिए । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, स्थानीय सरकार र स्थानीयवासीको संयुक्त प्रयासमा अवरुद्ध भएका सडक मर्मत तथा वैकल्पिक व्यवस्थापन गरेर तत्कालका लागि एकतर्फी यातायातका साधन सञ्चालन गर्न सकिने बनाएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । 

बिहीवारदेखि परेको वर्षासँगै रोशी खोला र सुनकोसी नदीमा आएको बाढीपहिरोका कारण सुनकोशी गाउँपालिका- ७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पे खोला लगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय सरकार र स्थानीयवासीको सहयोगमा नेपालथोक- खुर्कोट सडक खण्डको अवरोध हटाएर बीच सडकमा अलपत्र परेका यात्रुलाई सिन्धुलीमाडीतर्फ ल्याउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताउनुभयो ।