काठमाण्डौँ , असोज १४ :

सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले हालसम्मको विवरणअनुसार दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिनुभयो । 

प्रारम्भिक विवरणका आधारमा यो तथ्याङ्क उल्लेख गरिएको भन्दै उहाँले थप क्षति भएको हुन सक्ने बताउनुभयो । बाढीका कारण झण्डै एक हजार एक सय मेगावाट विद्युत् उत्पादन रोकिएको छ । 

कूल एक हजार १० मेगावाट जडित क्षमताको १५ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको छ ।

तामाकोसी नदीको कटानका कारण खिम्ती लामोसाँघु प्रसारण लाइनको टावर बगाउँदा दुई सय मेगावाट बराबरको बिजुली प्रणालीमा जोड्न समस्या भएको त्यस अवसरमा जानकारी दिइयो। 

सोही प्रसारण लाइन भएर काठमाडौँका लागि बिजुली ल्याउने गरिएको छ । यस्तै दोलखा, रामेछापका विभिन्न आयोजनाको आठ सय मेगावाट बराबरको बिजुली प्रवाह गर्ने टावर समेत जोखिममा परेका छन् ।

मन्त्री खड्काले क्षति पुगेका आयोजनाको पुनःनिर्माणका लागि तत्काल आवश्यक पहल गरिने जानकारी दिनुभयो । पहिलो चरणमा क्षतिको सम्पूर्ण विवरण सङ्कलन गर्ने, पुनः निर्माण र पुनःस्थापना कार्यलाई विशेष ध्यान दिइनेछ । यसका लागि सरकारका सबै संयन्त्र परिचालन गर्नेछौँ” उहाँले भन्नुभयो ।

यस्तै, प्रसारण लाइन तर्फ काबेली करिडोरअन्तर्गतको दमक गोदक एक सय ३२ केभी प्रसारण लाइन, खिम्ती लामोसाँघु एक सय ३२ केभी, सोलु करिडोरमा क्षति पुगेको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाढीपहिरोका कारण माथिल्लो तामाकोसी जलविद्युत् आयोजना बन्द भएको छ । 

सो आयोजनाको बाँधस्थलमा रहेको नियन्त्रण कक्ष भवनमा क्षति पुगेको छ । यस्तै, बालुवा थिग्य्राउने पोखरीलगायतका संरचनामा क्षति पुगी  विगत तीन दिनदेखि बन्द रहेको सो आयोजनाको सम्पूर्ण विवरण सङ्कलन गर्नसमेत हालसम्म समस्या रहेको उहाँले बताउनुभयो। 

“काबेली करिडोरमा समस्या आउँदा इलाम र पाँचथरमा बिजुली प्रवाहका लागि समस्या भएको छ । झापाबाट वैकल्पिक व्यवस्था गरेर बिजुली उपलब्ध गराउने प्रयास भइरहेकाले आज अबेरसम्म सो कार्य सम्भव हुने विश्वास छ”, कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।

यस्तै, सिँचाइ तर्फ एक अर्ब ३५ करोड बराबरको क्षति पुगेको छ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कफर ड्याम डुबानमा परेको छ। रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएकाले क्षतिको तत्काल अनुमान गर्न गाह्रो भएको जनाइएको छ । 

कमला, नारायणी सिँचाइ आयोजनालगायतमा क्षति पुगेको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाका १० वटा शाखा नहरमा सामान्य क्षति हुँदा पाँच करोड बराबर क्षति भएको अनुमान गरिएको छ ।