काठमाण्डौँ , असोज १४ :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ । आज तामाङलाई आफ्नै निवास खुमलटारमा बोलाएर उहाँले सम्मान गर्नुभएको हो ।

तामाङले  शनिवार ललितपुर महानगरपालिका- २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी छ वर्षीया मेघनालाई उद्धार गर्नुभएको थियो । 

खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्‍याएको अवस्थामा तामाङले उर्लंदो भेलमा हाम फालेर उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ ।

अध्यक्ष दाहालले साहसी काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा तामाङलाई बधाई तथा धन्यवाद दिनुभयो । सङ्कटको बेला नै बहादुरको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’ को रूपमा सम्मान गरिएको बताउनुभयो । 

काभ्रेको तेमाल गाउँपालिका- ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । 

त्यस अवसरमा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकामा खुसी लागेको बताउनुभयो । आफू बिहान खोला हेर्न आएको बेला मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको उहाँले बताउनुभएको थियो । 

तामाङले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सीपले दुई जनाको ज्यान बचाउन सकेको सुनाउनुभयो ।

यसैबीच माओवादी केन्द्र एसिया सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख बराबरको सहयोग गरेको छ । 

समितिका इन्चार्ज पम्फा भुसाल, सह इञ्चार्ज ओम शर्मा र नेता  टिबी पाठकले पाँच लाख बराबरको चेक अध्यक्ष दाहाललाई हस्तान्तरण गर्नुभएको हो ।