काठमाण्डौँ , असोज १४ :

बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ । 

ती घटनामा परी ४२ जना बेपत्ता भएका छन भने एक सय ११ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक सूचना मार्फत केहीबेर अघि जानकारी दिनुभयो ।

बाढी, पहिरो पछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुरलगायत जिल्लाका विभिन्न स्थानबाट घाइते र अलपत्र परेका एक सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीले जानकारी बताउनुभयो ।

यसका साथै खोज तथा उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको उहाँले बताउनुभयो। सम्बन्धित निकायसँगको समन्वयमा अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेकाले पनि उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसमेत विपद् प्रभावितको खोज, उद्धार र राहतमा सक्रियतापूर्वक जुटिरहेको पनि मन्त्रालयले जनाएको छ ।